काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको गाउँ/नगर सभापतिसहितका कार्यसमिति चुन्न वडा सभापति र क्षेत्रीय प्रतिनिधि मतदाता हुने व्यवस्था गरिएको छ ।

विधानमा भएको क्रियाशीलले चयन गर्ने व्यवस्था संशोधन गर्दै कांग्रेसले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कार्यसमिति क्रियाशील सदस्यले चुन्ने व्यवस्था हटाएको हो । शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले गाउँ/नगरको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधि मात्रै हुन पाउने व्यवस्था गरेको छ । कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार क्रियाशील सदस्य पनि हुन सक्ने व्यवस्था बैठकले गरेको छ । 

‘विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको क्रमशः गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर, उपमहानगर, महानगरपालिका क्षेत्र भित्रका कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य’ भनिएकोमा गाउँपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि भनी संशोधन गर्ने’ निर्णय केन्द्रीय समितिबाट भएको छ।

त्यस्तै, बैठकले अपांगता भएका व्यक्तिहरूको सन्दर्भमा विधान र नियमावलीमा भएको व्यवस्था अनुरुप गर्ने निर्णय गरेको छ ।