जेनजी आन्दोलन : मृतकको संख्या बढ्दै, अहिलेसम्म १९ पुग्यो
काठमाडौं - राजधानी काठमाडौंसहित देशभर चर्किएको जेनजी आन्दोलन थप रक्तपातमा परिणत भएको छ। प्रहरीको गोली लागी सोमबारसम्म १९ जनाको ज्यान गइसकेको छ भने ३४७ जना घाइते भएका छन् ।
काठमाडौंको नयाँ बानेश्वर केन्द्रित आन्दोलनमा प्रहरीले भीड नियन्त्रणका लागि पानीको फोहरा, अश्रुग्यास र गोली प्रयोग गरेको थियो। गोली प्रहारपछि प्रदर्शन हिंसात्मक बन्दै गएर ठूलो जनधनको क्षति भएको हो ।
ट्रमा सेन्टरमा ८, एभरेस्टमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको मृत्यु भएको छ ।
विभिन्न अस्पतालमा ३४७ जना घाइतेको उपचार भइरहेको छ । सिभिलमा १००, ट्रमामा ५९, एभरेस्टमा १०२, केएमसीमा ३७, वीरमा ६ र पाटन अस्पतालमा ४, त्रिवि शिक्षणमा १८ जना, नर्भिकमा ३, बीपी प्रतिष्ठानमा २, गण्डकी मेडिकल कलेजमा १ जना, विराट मेडिकल कलेजमा ४ र दमक अस्पताल ७ जना उपचार भइरहेको छ ।
यस्तै, इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएसँगै प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको हो ।
एभरेस्ट अस्पतालमा ४ जना गम्भीर अवस्थामा छन् । त्यस्तै, ट्रमा सेन्टरमा १० जना गम्भीर घाइते रहेको छन्, जसको टाउको र छातीमा गोली लागेको छ ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध उत्रिएका जेनजी पुस्ताका युवाहरूको आन्दोलन काठमाडौंसहित देशका मुख्य सहरमा अझै जारी छ। राजधानीका विभिन्न भागमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस