काठमाडौ - नेपाल आयल निगमले कोरोना भाइरसका कारण आपूर्ति बिथोलिएर ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै आधा ग्यास भरेर बेच्न ग्यास उद्योगहरुलाई निर्देशन दिएको छ ।
हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास भर्दै आएका ग्यास उद्योगले अबदेखि ७।१ किलो ग्यास भर्नुपर्नेछ । आधा भरिएको ग्यासलाई उपभोक्ताले ६ सय ८७ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ ।
निगमले एलपी ग्यास उद्योगीहरूलाई आधा भरिएको सिलिन्डर बजारमा उपलब्ध गराउन निर्देशन दिएको हो । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले निगमबाट यस्तो निर्देशन आएको पुष्टि पनि गरे ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले अभाव हटाउन आधा ग्यास भरेर बिक्री गर्न उद्योगलाई आग्रह गरेको जानकारी दिए । उनले भने, ‘हामीले भारतबाट बढी ग्यास ल्याएर अभाव हटाउने प्रयास गर्दा पनि अभाव नहटेपछि हामीले आधा ग्यास भरेर बिक्री गर्ने योजना बनाएका हौं।’
आधा ग्यास उपलब्ध गराउने विषयमा ग्यास उद्योगी पनि सकारात्मक देखिएका छन् । यसअघि २०७२सालमा पनि भारतले लगाएको अघोषित नाकाकन्दीका बेला आधा मात्रै सिलिन्डर भरेर वितरण गरिएको थियो । मंगलबार र बुधबार मात्रै ४४ सय टन ग्यास नेपाल भित्रिएको छ।

.gif)


