काठमाडौं - राष्ट्रिय मानवअधिकार आयोगले पछिल्ला दिनहरुमा बढिरहेको वायु प्रदूषणले नागरिकको स्वास्थ्यमा परेको असरप्रति सरकारको ध्यानाकर्षण गराएको छ । 

बिहीबार एक विज्ञप्ति जारी गर्दै आयोगले नेपालको संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने हकको व्यवस्था गरेको स्मरण समेत गराएको छ । 

‘वातावरण संरक्षण ऐन, २०५३ तथा नियमावली २०५४, विपद् जोखिम न्यूनीकरण व्यवस्थापन ऐनलगायत राष्ट्रिय कानुनका साथै नेपाल पक्ष राष्ट्र बनेको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले स्वच्छ वातावरणीय अधिकारको व्यवस्था गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

गत शुक्रबारदेखि देशभर वायु प्रदूषण बढेको छ । सरकारले यहि प्रदुषणबाट बच्न चार दिन देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।