काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिपक्षी दलको भूमिकामाथि प्रश्न उठाएका छन् । 

बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेको सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने र कुनैपनि वेला वैकल्पिक सरकार दिन तयार रहनु भएको उल्लेख गर्दे बिहीबार सामाजिक सञ्जालमार्फत भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विदाई गर्न ढिलो गर्न नहुने बताएका हुन् । 

असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनः नयॅा प्रपंच गरिरहेको ओली सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल नभएको उनको भनाई छ । ‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयॅा निर्वाचनमा जान तयार रहने हो।’ उनले भनेका छन्, ‘अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुन:नयॅा प्रपंच गरिरहेको ओली सरकारलाई विदागर्न ढिलाइगर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है!’

भट्टराईको यो भनाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसप्रति लक्षित छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल सरकारमा नजाने बताउँदै आएका छन् । पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको माओवादी केन्द्रले समर्थन जारी नै राखेकाले अहिले सरकार ढाल्न नसकिनेमा देउवाको विश्लेषण छ।