काठमाडौं- धादिङ बस दुर्घटनाको छानबिन गर्ने निर्णय भएको छ । धादिङ भएको बस दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटनाबारे छानबिन गर्ने निर्णय गरेको हो ।दुर्घटनापछि गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासङ्घ, तीनवटै सुरक्षा निकायका प्रमुखहरू र सरोकारवाला निकायहरूबीच छलफल भएको थियो । 

उक्त छलफलमा घटनाको छानबिन गर्न समिति बनाउने निर्णय भएको हो । तर, कसको नेतृत्वमा कति सदस्यीय समिति बनाउने भन्ने टुङ्गो लागि नसकेको गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिइन् ।  हिजोराति पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।  दुर्घटनामा कुल १९ जनाको मृत्यु भएको छ भने अन्य घाइते भएकाहरुको काठमाडौंमा उपचार भइरहेको छ। सो बसमा चालक र दुई जना बसका कर्मचारीसहित ३७ जना थिए । तर बाटोमा थप यात्रु चढाइएको जनाइएको छ । प्रहरीले सो बसमा कुल ४५ जना यात्रारत रहेको जनाएको छ ।