काठमाडौं - सङ्घीय मामिला  तथा  सामान्य  प्रशासन  मन्त्रालयले  स्थानीय  तहमा  विभिन्न  कारणले हाल २९ पद रिक्त भएको विवरण  निर्वाचन  आयोगलाई  उपलब्ध  गराएको  छ  ।  रिक्त  पदमा  उपनिर्वाचन  हुने  वा  नहुने  अन्योल  कायमै छ ।

साढे तीन वर्षअघि २०७४ साल वैशाख  ३१  गते  पहिलो  चरणमा  स्थानीय तहको निर्वाचन भएको थियो । आयोगले एक वर्षअघि अर्थात् २०७६ मङ्सिर १४ गते स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाका रिक्त पदमा उपनिर्वाचन गराएको थियो । यसपटक स्थानीय तहमा मात्रै पद रिक्त भएको विवरण आयोगमा आएको छ । 

आयोगका  प्रवक्ता  राजकुमार  श्रेष्ठका अनुसार मन्त्रालयबाट प्राप्त विवरणमा  स्थानीय  तहको  अध्यक्ष  दुई, उपाध्यक्ष एक र वडाध्यक्ष २६ गरी २९ पद रिक्त छ । खोलुखुम्बु र अर्घाखाँचीमा  अध्यक्ष  तथा  भोजपुर  जिल्लामा उपाध्यक्ष पद रिक्त छ । यसैगरी  वडाध्यक्ष  रिक्त  भएका  जिल्लामा सप्तरीमा तीन, सङ्खुवासभा, मकवानपुर,  चितवन,  नवलपरासी,  रुपन्देही  र  बर्दिया  जिल्लामा  दुई–दुई  वडाध्यक्ष पद रिक्त छन् । यस्तै पाँचथर, सोलु, सर्लाही, कास्की, म्याग्दी, रुकुम पूर्व, प्युठान, हुम्ला, जाजरकोट, बाजुरा, कञ्चनपुर  जिल्लामा  वडाध्यक्षको  एक–एक पद रिक्त छ ।