काठमाडौं - महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी नायब निरीक्षक र ट्राफिक प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ। चार दिनअघि मात्रै उनीहरूको स्वाब संकलन गरिएको थियो।

योसँगै नेपालमा १३ जना सुरक्षाकर्मीलाई संक्रमण पुष्टि भएको छ ।दुई सुरक्षाकर्मीमा कोरोना देखिएसँगै वृत्त र ट्राफिक प्रहरी प्रभागमा कार्यरत एक सय ४५ जना सुरक्षाकर्मीलाई आइसोलेसनमा राखिएको छ।

संक्रमित दुई सुरक्षाकर्मी सशस्त्र प्रहरी बल अस्पतालमा उपचारका लागि राखिएको छ। कालिमाटी वृत्त र ट्राफिक प्रभाग मातहतका सबै प्रभाग र बिट सिल गरिएको छ। त्यहाँ काम गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी मुख्यालयबाट सुरक्षाकर्मी परिचालित छन्।

यसअघि नेपाली सेनाको मध्यपूर्वी पृतनापति एवं उपरथी र सैनिक जवानलाई कोरोना संक्रमण भएको थियो। यससँगै हालसम्म पूर्वगृहमन्त्री भीम रावलका पूर्व पीएसओसहित सशस्त्र प्रहरीका तीन, नेपाल प्रहरीका सात र राष्ट्रिय अनुसन्धान विभागका एक जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको गृह मन्त्रालयले जनाएको छ।