काठमाडौं  - प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका लागि युवा विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्ने बताएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीन करोड जनसंख्या भएको मुलुकमा २६ लाख युवा रोजगारीका लागि बाहिर जानु राम्रो नभएको बताएका हुन् । उनले केही वर्षभित्रै रोजगारीका लागि बाहिर जाने स्थितिलाई अन्त्य गर्ने रणनीतिका साथ सरकारले काम गरिरहेको पनि बताए ।

‘तीन करोड जनसंख्या भएको मुलुकमा २६ लाख युवा रोजगारीका लागि बाहिर जानु राम्रो होइन’ उनले भने, ‘त्यसैले हामीले यस दिशामा ठोस प्रयासहरु अगाडि बढाएका छौं। र हामी केही वर्षभित्र रोजगारीका लागि, छनौटका हिसाबले बाहिर जानु बेग्लै कुरा हो, बाध्यताको हिसाबले बाहिर जाने स्थितिलाई अन्त्य गर्ने रणनीतिका साथ सरकार काम गरिरहेको छ।’

प्रधानमन्त्री ओलीले युवाहरूको अभिभावकत्व, अवसर उपलब्ध गराउन सरकार दत्तचित्त रहेको पनि बताएका छन् ।‘बालबालिकाको नीति निर्माणमा सहभागिता हुने भएन । उत्पादनमा सहभागिता हुने भएन । उनीहरू भविष्यका कर्णाधार हुन् । उनीहरूलाई सक्षम बनाउनुपर्छ । सुरक्षामा ध्यान दिनुपर्छ । युवाहरूको सन्दर्भमा, ४० प्रतिशत युवा स्थानीय तह प्रतिनिधित्व गरिरहेका छन् ।’ उनले भने, ‘सरकार साथमा छ । अभिभावकत्व ग्रहण गर्न, साथ सहयोग गर्न सरकार दत्तचित्त छ ।’