काठमाडौं - वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको आज अन्त्येष्टि गरिँदैछ ।

सोमबार अपराह्न अचानक अक्सिजन लेभल कम भएपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएका गायक आचार्यको मंगलबार अन्त्येष्टि गर्न लागिएको हो ।

अत्येष्टिअघि आचार्यको पार्थिव शरीरलाई आज बिहान १० बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । १ बजेसम्म श्रद्धाञ्जलीका लागि राखेर त्यसपछि आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैछ ।

विक्रम संवत् १९९९ सालमा धनकुटामा जन्मिनु भएका ८१ वर्षीय आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान रहेको छ । आचार्यको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत राजनीतिकर्मी, संगीतकर्मी र सर्वसाधारणले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।