काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य नहुने चेतावनी दिएकी छिन्।

शनिवार काठमाडौंमा आयोजित राष्ट्रिय बृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो चेतावनी दिएकी हुन्।

इमान्दार उद्यमीलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्नेहरु पोसिने अवस्था नरहने पनि स्पष्ट पारिन्। उनले जेनजी आन्दोलनको पृष्ठभूमिमा केही उच्छृङ्खल समूहहरुले राज्यविहीनताको फाइदा उठाउँदै व्यापारिक क्षेत्रमाथि गरिएको आक्रमण स्वीकार्य नभएको बताइन्।

लोकतन्त्रको नाममा अब लुटतन्त्र सह्य नहुने भन्दै उनले भनिन्- ‘भर्खरैको भदौको जेनजी आन्दोलनले देशलाई के सह्य छ र के असह्य छ भन्ने एउटा खुला लक्ष्मण रेखा स्थापित गरेको छ। घुसखोरी, पार्टीगत लेबी र कमिसनको सञ्जाल सह्य छैन। लोकतन्त्रको नाममा लुटतन्त्र हामीलाई स्वीकार्य छैन। इमानदार उद्यमीलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्नेहरू पोसिने अवस्था रहनु हुँदैन।’

उनले जेनजी आन्दोलनको पृष्ठभूमिमा केही उश्रृंखल समूहहरुले राज्यविहिनताको फाइदा उठाउँदै व्यापारिक क्षेत्रमाथि गरिएको आक्रमण स्वीकार्य नभएको पनि बताइन्।

उक्त घटनापछि मर्माहत भएको निजी क्षेत्रलाई जेनजी आन्दोलनमा घाइते युवाहरूलाई झैँ तत्काल राहत, सहयोग पु¥याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकार कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन्।