काठमाडौं - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डमा अदालतको अवहेलना मुद्दामा एक घण्टाका लागि जेल चलान भएका पत्रकार खेम भण्डारी रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले भण्डारीलाई मंगलबार अपरान्ह नियन्त्रणमा लिएको थियो ।

मानसखण्ड दैनिकका सम्पादकसमेत रहेका भण्डारीले रिहा भएलगत्तै अदालतको फैसला पालना गर्दै आफुले १ घण्टा कैद भुक्तानी १ रुपैयाँ जरिवाना तिरेको बताएका छन् । रिहा भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै भण्डारीले अदालतले आफ्नो पुनरावदेन गर्न पाउने अधिकारलाई भने अपहरण गरेको दाबी गरेका छन् ।

उनले चेतावनी दिँदै भनेका छन्, ‘यसबाट निर्मला हत्या प्रकरणमा अदालतभित्रैका केही काला कर्तुतहरुको मिलेमत्तोको गन्ध आएको छ । अब न्यायालयलाई कलंकित गर्नेहरुविरुद्ध लड्ने बाटो खुलेको छ ।’