काठमाडौं - उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले आगामी सरकारमार्फत देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाउने लक्ष्यका साथ आफू अघि बढेको बताएका छन् ।

काठमाडौंमा आयोजित उज्यालो नेपाल पार्टीको भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष घिसिङले मुलुकको आर्थिक रूपान्तरण आफ्नो प्रमुख एजेन्डा रहेको स्पष्ट पारेका हुन् ।

घिसिङले वर्तमान राजनीतिक परिस्थितिमा जनताको भरोसा जित्ने काम व्यवहारिक परिणाममार्फत मात्रै सम्भव हुने उल्लेख गर्दै उत्पादन, रोजगारी र लगानीमैत्री नीतिलाई प्राथमिकता दिने बताए ।

‘म चुनौती लिएर नै सरकारमा जाने र परिणाम देखाउने विश्वासका साथ अघि बढेको हुँ । अवसर पाएँ भने आर्थिक सुधार र सुशासनमा डेलिभरी दिन्छु,' उनले भने।

उनले देशबाट लोडसेडिङ आफूले हटाएको भन्दै राजनीतिक क्षेत्रको लोडसेडिङ पनि हटाउन आफू आएको बताए। 

राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य नभएसम्म देशको परिस्थितिमा सुधार नआउने उनको भनाइ थियो ।