काठमाडौं - नेपालमा थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बिहीबार थप ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा १० हजार ६२५ पीसीआर परीक्षण गर्दा २ हजार ३०९ जना र ४ हजार २८५ एन्टिजेन परीक्षण गर्दा ८०५ जनामा संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी १६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६९५ पुगेको छ।

गत २४ घण्टामा २ हजार १९७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २७ हजार ७५७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।