काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच मंगलबार वार्ता हुँदैछ । ५ दिनपछि ओली र प्रचण्डबीच फेरि छलफल हुन लागेको हो । गत बुधबार दुई अध्यक्षबीच वार्ता भएको थियो । ठोस निर्णय नभएपछि बिहिबार बस्नेगरी सकिएको थियो । तर, बिहिबार वार्ता हुन सकेन ।

पार्टीको स्थायी कमिटी बैठक साउन २ गतेसम्मको लागि स्थगित भएको छ । बाढी पहिरोका कारण विपत्मा फसेकाको उद्धारको लागि कार्यकर्तालाई निर्देशन दिँदै बैठक स्थगित भएको थियो ।

त्यसलगत्तै प्रचण्ड गृह जिल्ला चितवन गएका थिए । उनले विभिन्न स्थानको निरिक्षण गरेर सोमबार काठमाडौ फर्केका छन् ।

गत असार १० गते बुधबारबाट सुरु भएको पार्टीको स्थायी समिति बैठकमा प्रचण्ड माधव नेपालको समुहले ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको थियो ।

त्यसपछि पार्टीको विवाद मिलाउन पटक पटक वान टु वान वार्ता भएपनि ओली कुनै हालतमा राजीनामा दिन तयार भएका छैनन् । बहुमत स्थायी समिति सदस्यको मागविपरित ओलीले अडान नछाडेपछि विवाद थप पेचिलो बन्दै आएको थियो ।