५४ जिल्लामा टेलिकमको एफटीटीएच फाइबर सेवा
काठमाडौं - नेपाल टेलिकमले सञ्चालनमा ल्याएको एउटै फाइबरबाट तीन प्रकारका सेवा (टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा) हालसम्म ५४ जिल्लामा विस्तार गरेको छ । बिहीबारसम्म १ लाख ७२ हजारको पहुँचमा एफटीटीएच फाइबर सेवा पुग्न सफल भएको टेलिकमले जनाएको छ ।
टेलिकमले २०७५ सालमा १ हजार ७३८ ग्राहकलाई मात्र सो सेवा उपलब्ध भएकोमा २०७६ मा ३० हजार ८७९ ग्राहकलाई र २०७७ मा १ लाख ७ हजार ७०१ ग्राहकलाई सो सेवा उपलब्ध गराएको थियो । यसैगरी, २०७८ को चार महिनामा करिब ६४ हजार २९९ नयाँ लाइन वितरण गरिएको जनाएको छ ।
नेपाल टेलिकमले एफटीटीएच सेवा अन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत २०७७ पुस १७ देखि एनटी टिभी ब्रान्डमा आईपी टीभी सेवा समेत उपलब्ध गराइरहेको छ । सुरुवाती चरणमा काठमाडौं उपत्यका र बनेपामा मात्र उपलब्ध गराइएको उक्त सेवा हाल भरतपुर, हेटौंडा, लाहान, टाँडी, धुलिखेल, नगरकोट, पोखरा, सौराहा, बुटबल, बर्दघाट, बागलुङ्ग, तौलिहवा, सन्धिखर्क, भैरहवा, पाल्पा, सिसुवा, तम्घास, दमौली, धादिङ, परासी, मंगलापुर र सिराहालगायत स्थानमा पनि विस्तार भइसकेको छ ।
यस आर्थिक वर्षमा मुलुकभरका ६५ जिल्लामा एफटीटीएच सेवाको विस्तार गर्ने टेलिकमको योजना रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस