काठमाडौं - पूर्वगृहमन्त्री सुधन गुरुङमाथि गठित छानबिन समितिले बयानका लागि औपचारिक रूपमा पत्राचार गरेको छ । समितिले बुधबार गुरुङसँग बयान लिने तयारी गरेको हो ।

स्रोतका अनुसार मंगलबारदेखि नै बयान प्रक्रिया अघि बढाउने तयारी भए पनि बैंक, जग्गा र स्टक एक्सचेन्जसँग सम्बन्धित प्राप्त विवरणहरूको विश्लेषण नसकिएकाले प्रारम्भिक अध्ययनलाई प्राथमिकता दिइएको छ ।

विभिन्न निकायबाट आएका कागजातहरूको विस्तृत अध्ययन भइरहेको छ । आवश्यक थप कागजात माग गर्ने तयारी पनि गरिएको बताइएको छ ।

गत वैशाख २८ गते सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य छन्।

गुरुङले वैशाख ९ गते नै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी चैत १३ गते नियुक्त भएका थिए।

सम्पत्ति विवरण सार्वजनिक भएपछि उनीमाथि हदबन्दीभन्दा बढी जग्गा, साथै व्यवसायी दीपक भट्ट संलग्न कम्पनीसँग जोडिएको सेयर स्वामित्वबारे प्रश्न उठेको छ ।