काठमाडौं - रुपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएका लेखजंग थापाले दुईवटा विवाह गरेको स्वीकार गरेका छन् । उम्मेदवार चयन भए लगत्तै थापामाथि बहुबिवाहको आरोप लागेको थियो ।

थापाले मंगलबार सामाजिक सञ्जालमा लामो स्ट्याटसमार्फत आफ्नो पारिवारिक जीवन गैरकानुनी वा समस्याग्रस्त नभएको स्पष्ट पारेका हुन् । उनले दुईवटा विवाह गरेको स्वीकार्दै, पहिलो विवाह कानुनी रूपमै सम्बन्ध विच्छेद भएको प्रमाण सार्वजनिक गरेका छन् ।

उनले सार्वजनिक गरेको कागजातअनुसार २०७९ माघ १५ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासले थापा र उनकी एक पत्नीबीच सम्बन्ध विच्छेद गराएको देखिन्छ।

थापाले भने, “परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो, त्यति नै सत्य मेरो एक जना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो। र त्योभन्दा ठुलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँग मेरो सन्तान हो, जसको म पिता पनि हुँ।” उनले सन्तानको भविष्य सुरक्षित राख्न साझा अभिभावकत्व निभाउने प्रतिबद्धता व्यक्त गरे।

थापाले आफ्नो निजी जीवनमाथि उठेका प्रश्नहरू व्यक्तिगत नभई पार्टीमाथि गरिएको नियोजित आक्रमण भएको बताए। उनले आफ्नो निजी जीवनको यो आयाम पार्टी नेतृत्वलाई जानकारी गराइसकेको र कानुनी परामर्शसमेत लिइएको पनि उल्लेख गरे।

न्युरोचिकित्सकका रूपमा १४ वर्षको पेशागत अनुभव भएका थापाले राजनीतिक क्षेत्रमा देशको रूपान्तरणकारी परिवर्तनका लागि आएको बताए। उनले भने, “म नेता बन्न होइन, देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ। मेरो यात्रा औसत राजनीतिभन्दा माथि रूपान्तरणकारी परिवर्तनका लागि हो।”

थापाले आफ्नो व्यक्तिगत जीवन खुला रूपमा प्रस्तुत गर्दै पार्टी र जनता सामु पारदर्शी बन्ने प्रयास गरेको पनि स्पष्ट पारेका छन् ।