काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग सहयोग मागेका छन् । 

बुधबार बुढानिलकण्ठमा जारी कांग्रेस र एमाले नेताहरुको बैठकमा ओलीले वैशाख २७ गते विश्वासको मत लिँदा आफूलाई सहयोग गर्न देउवालाई आग्रह गरेका छन् । 

जवाफमा देउवाले आफू प्रमुख प्रतिपक्षी दलको नेता भएकाले विश्वासको मत दिन नसक्ने बताएको बैठकमा सहभागि एक नेताले जानकारी दिए । ‘विश्वासको मतमा कांग्रेसको सहयोगको अपेक्षा गर्दछु भनेर प्रधानमन्त्रीले भन्नुभयो, हामी विपक्षी पार्टी हो । अहिले हामीले तपाईंलाई सहयोग गर्ने अवस्था छैन भनेर देउवा जीले भन्नुभयो।’ एक नेताले देउवाको भनाई उदृत गर्दै भने । 

बैठकमा एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन् ।

यस्तै, काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत नेता कृष्णप्रसाद सिटौला केन्द्रीय सदस्य रमेश लेखक लगायत सहभागी छन् ।