काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटप्रति प्रतिक्रिया जनाएका छन् ।

उनले ‘कोरोनाभाइरस’को महामारीसँग जुध्न मोदीले गरेको प्रस्तावको स्वागत गरेका हुन् ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् मोदीले कोरोनाभाइरसविरूद्ध लड्नका लागि ‘सार्क’ मुलुकहरूले बलियो रणनीति बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

उनले ‘भिडियो कन्फरेन्स’मार्फत् आवश्यक रणनीतिहरु आदान–प्रदान गरेर यस क्षेत्रका नागरिकलाई सुरक्षित राख्न सकिने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले मोदीको सोही ट्वीटप्रति ट्वीटमार्फत् नै आफ्नो भनाइ राखेका हुन् । प्रधानमन्त्री ओलीले मोदीको ‘विचार’लाई समर्थन गर्दै आफ्नो सरकार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरुसित मिलेर काम गर्न तयार रहेको जनाएका छन् ।