काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अहिलेको संकटको निकास र महाधिवेशनका लागि केन्द्रित भएकोले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् । 

सोमबार बसेको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले बैठकमा मुख्यमन्त्री र मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको दाबी गरेका हुन् । पार्टीले हाल संकटको निकास खाजेको भन्दै अहिले मन्त्रिपरिषद् पुनर्गठनबारे अध्यक्षबीच र सचिवालयमा छलफल नभएको बताएका हुन् ।

गत बिहीबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनाएको कार्यदललाई अनुमोदन गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । कार्यदलको प्रतिवेदन दुई अध्यक्षले ग्रहण गर्ने र स्थायी कमिटीमा प्रस्तुत हुने उनको भनाइ छ ।

नेकपामा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेको छ । कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।