काठमाडौं - सरकारले आगामी आर्थिक वर्षमा विदेशबाट फर्किएका युवा तथा बेरोजगार शिक्षितलाई व्यवसाय शुरु गर्न शुरुवाती पुँजी उपलब्ध गराउने बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बेरोजगारलाई शुरुवाती पुँजी उपलब्ध गराउने बताएकी हुन् । तर, यो नयाँ कार्यक्रम भने होइन् ।

यसअघि पनि स्वरोजगारी सिर्जना तथा आयआर्जन विस्तारका लागि व्यवसाय शुरु गर्न शुरुवाती पुँजी उपलब्ध गराउने उल्लेख गरिदैँ आएपनि कार्यान्वयन फितलो छ ।

राष्ट्रिय योजना आयोगले नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यमी, व्यवसायी व्यक्ति वा संस्थालाई व्यवसाय सञ्चालन गर्न अनुदान दिन गत सोमबार प्रस्ताव आह्वान गरेको छ ।

त्यस्तै, आगामी आर्थिक वर्षमा आवश्यकता अनुसार सबै स्थानीय तहमा सीपविकाससम्बन्धि घुम्ती तालीम सञ्चालन गरिने घोषणा गरिएको छ । श्रम सूचना प्रणालीको स्थापना गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।