काठमाडौं - प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाएका छन् । शनिबार काठमाडौंको वसन्तपुरमा संविधान दिवसको उपलक्ष्यमा आयोजित पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । 

ओलीले गठबन्धनका कारण धक्का खाएको देशको अवस्थालाई चिरेर द्रुत गतिले विकास गर्नुपर्ने समेत बताउँदै लोकतन्त्रको पक्षमा, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा, नेपाल नेपालीले नै चलाउने हो भन्ने अभियानका साथ अघि बढ्न आग्रह समेत  गरे । 

संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने ओलीको भनाई छ । संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा वृहत वाकथन (पदयात्रा) शुरु गरेको हो । 

पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट शुरू भएको थियो । पदयात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित शीर्ष नेतृत्व पनि सहभागी थिए ।