प्रचण्डको 'गणतन्त्रको पहिलो दशक' पुस्तक सार्वजनिक
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुस्तक सार्वजनिक भएको छ । उनले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको हो ।
पुस्तकमा वि.सं. २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा प्रचण्डले व्यक्त गरेका विचार समावेश रहेको छ । पुस्तकमा विभिन्न ४२ शीर्षकहरु समेटिएका छन् ।
२४० वर्षको राजतन्त्रलाई परास्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, संविधान निर्माण, स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गराउन भोगिएका परिघटना र संघर्षलाई पुस्तकमा समावेश गरिएको छ ।
यस्तै, विभिन्न राजनीतिक शक्तिबीच भएका संघर्ष, पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्ने वर्ग, संस्कृति र विचारसँगको टकराव एवम् रुपान्तरणका अनेक प्रयास यसमा रहेको छ । प्रचण्डले पुस्तक प्रकाशनका निम्ति अहोरात्र खटेका नेता, कार्यकर्ता तथा प्रकाशनका निम्ति घच्घचाउने पत्रकार, वुद्धिजीविलाई शुभकामना दिए ।
प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकमा ३८५ पृष्ठ रहेका छन् । यसको मूल्य ५ सय रुपैयाँ राखिएको छ ।
फेसबुक पेज Like गर्नुहोस