काठमाडौं - गुल्मीको एक किराना पसलमा सोमबार दिउँसो आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा पसल सञ्‍चालक पूर्ण खनालका छोरा १५ वर्षीय समिर खनाल रहेका छन् । त्यस्तै, आगलागीमा परेर एकै परिवारका तीन जना घाइते भएको चन्द्रकोट प्रहरी चौकीका इन्चार्ज रामप्रसाद धबलले जानकारी दिए । 

आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीले पसलको सबै सामग्री जलेर नष्ट भएको छ ।घरबाटै डिजल, पेट्रोलसमेत विक्री गर्दै आएकाले तत्काल आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।