काठमाडौं - लघुवित्त तथा वित्तीय शोषण पीडितहरूको आन्दोलनबीच सरकारले उनीहरूको माग सम्बोधनका लागि दोस्रो चरणको वार्ता सुरु गरेको छ।
शुक्रबार अर्थ मन्त्रालयमा दुवै पक्षबीच औपचारिक छलफल भइरहेको हो। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीले पीडित पक्षसँग संवाद अघि बढाएको हो।
बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत वार्ता टोली गठन गरिएपछि लगातार दोस्रो दिन छलफल सुरु भएको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका स्वकीय उपसचिव नवीन ढुंगानाका अनुसार वार्तामा अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य, कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलसहभागी छन्।
लघुवित्त तथा वित्तीय शोषण पीडितहरू गत सातादेखि आफ्ना विभिन्न मागसहित काठमाडौंमा आन्दोलनरत छन्। उनीहरूले माइतीघर मण्डलमा धर्ना जारी राख्दै सरकारसँग वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्।
पीडितहरूको मुख्य मागमा वित्तीय शोषणको अन्त्य, किसानलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था, किसानमाथिको दलालीकरण अन्त्य, आफूहरूले अन्यायपूर्ण ठानेका कानुनी व्यवस्थाको पुनरावलोकन तथा अपराधसम्बन्धी ऐन खारेजलगायत विषय समावेश छन् ।

.gif)


