काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ, आदेश नमान्नेलाई जेल सजाय
काठमाडौं - उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि थप गरिएको निषेधाज्ञा शुक्रबारदेखि लागू भएको छ । यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।
उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले अबको एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने विरुद्ध थप कठोर हुने जनाएको छ । झण्डै एक महिनादेखि शुरु भएको निषेधाज्ञाका कारण कोभिड–१९ नियन्त्रणमा केही सफलता प्राप्त गरे पनि आशातीत उपलब्धि हुन नसकेको निष्कर्ष निकालेका प्रशासन कार्यालयले अबको हप्ता भने आदेशको कडाइका साथ कार्यान्वयन गरिने र नमान्नेलाई जेलसम्म हाल्ने गरी प्रस्तुत हुने तयारी गरेको हो ।
प्रशासन स्रोतका अनुसार उक्त निषेधाज्ञाको अवधिमा किराना पसल खोल्न नपाउने, अत्यावश्यक बाहेक हिँडडुल गर्न नपाउने, मर्निङ वाक र इभिनिङ वाकमा हिँड्न नपाइने, अनुमतिबिना सवारीसाधन चलाउन नपाइने जस्ता प्रतिबन्धात्मक व्यवस्थाहरू गरिएका छन् ।
निषेधाज्ञमा अत्यावश्यक खाद्य सामग्री (तरकारी, फलफूल, दूध, डेरी, मासु, खानेपानी र ग्यास) खरिद, बिक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने भएको छ । यसअघि बिहान १० बजेसम्म खुला गरिएको थियो । सार्वजनिक एवं निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन हुनेछ ।
वाणिज्य बैंकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालयसहित दुई वटा शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत) मात्र परिचालन गर्नुपर्ने छ । यसका लागि उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालय, महानगरीय प्रहरी र ट्राफिक प्रहरीबीच सहकार्य हुने छ ।
हालै जारी भएको कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशबमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई उल्लङ्घनको प्रकृतिअनुसार एक सयदेखि पाँच सय रुपियाँसम्म र सवारीसाधनलाई पाँच सयदेखि पाँच हजार रुपियाँ जरिवाना तिराइने छ । पसल खोल्नेहरुलाई भने पहिलो पटक चेतावनी दिएर बन्द गराउने र दोस्रो पटक पसल खोलेमा प्रहरी कार्यालयमा नै ल्याएर कारबाही गर्ने तयारी छ ।
यस्तै, उपत्यकाका तीन जिल्लाको जिल्ला प्रशासन कार्यालयले थप गरेको एक हप्ताको निषेधाज्ञामा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको छ । नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको हो । प्रशासन कार्यालयले विपन्न, असहाय र गरिब परिवारका लागि अप्ठ्यारो परेमा स्थानीय वडा कार्यालयमा वा टेलिफोन नं. १०३ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।
खाद्यान्नको अभाव भए यी नम्बरमा फोन गर्नुस् -


.gif)



फेसबुक पेज Like गर्नुहोस