एस्टनलाई हराउँदै लिभरपुल एफए कपको चौंथो चरणमा
काठमाडौं, एजेन्सी - प्रिमियर लिग लिडर लिभरपुल एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
शुक्रबार राति भएको तेस्रो चरणको खेलमा एस्टन भिल्लालाई ४-१ ले पराजित गर्दै लिभरपुलले चौंथो चरणमा स्थान बनाएको हो । युथ टिम मैदान उतारेको एस्टनविरुद्ध लिभरपुलले सुरुवातबाटै पकड जमाएको थियो ।
खेलको चौंथो मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए । तर, खेलको ४१ औं मिनेटमा एस्टनका बारीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
दोस्रो हाफमा भने लिभरपुलले खेल नियन्त्रणमा राख्यो । खेलको ६० औं मिनेटमा जर्जियानो विज्ननाल्डमले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । ६३ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ३-१ ले अघि रह्यो ।
त्यसपछि खेलको ६५ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ४-१ को जित दिलाए । फस्ट टिमका खेलाडीलाई कोरोना देखिएपछि एस्टनले युवा टिम खेलाएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस