काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयललाई सुटुक्क भेटेकोबारे सामाजिक संजालमा चर्चा भइरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रूपमा गत साता काठमाडौँ आएका गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीसँगै डा. भट्टराईसहित अन्य नेताहरुलाई पनि गोयलले भेटेको चर्चा चलिरहेको छ ।

डा. भट्टराईले गोयललाई भेटेको भन्दै लेखक खगेन्द्र संग्रौलाले बुधवार बिहान एक ट्वीट गरेका थिए । उक्त ट्वीटमा गोयलले बाबुराम भट्टराईलाई कोरोना सल्काएको टिप्पणी गरेका थिए । संग्रौलाको उक्त टिप्पणीको जवाफ भट्टराईले फर्काएका छन् । जवाफमा उनले कान नछामी कागको पछि लाग्ने देशमा सत्य र न्यायको के अपेक्षा गर्न नहुने बताएका छन् । 

उनले लेखेका छन्, ‘खगेन्द्र संग्रौलाजस्ता बौद्धिक व्यक्ति समेत आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरूबाट सत्य र न्याय, बुद्धि र विवेकको के अपेक्षा गर्नु  भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश ! बीपी र पीएललाई बाँचुञ्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश ! अनि हामी पछि नपरे को त ?’ भट्टराईले जवाफी ट्वीटमा लेखेका छन् ।’