पाल्पाको फोक्सिङकोटमा पहिरोमा परी ५ जना बेपत्ता
पाल्पा - पाल्पाको फोक्सिङकोटमा पहिरोले २ घर पुरिँदा ५ जना बेपत्ता भएका छन् । अविरल वर्षापछि रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा बिहीबार बिहान गएको पहिरोमा परी ५ जना बेपत्ता भएका हुन् ।
बेलौजास्थित स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिएको हो । उक्त दुई घर पुरिँदा ५ जना बेपत्ता भएका छन् ।
पहिरोमा परि बेपत्ता हुनेहरुमा हुम बहादुर गाहा, उनी श्रीमती, छोरी, छोरीको छोरी (नातिनी) र छोराको छोरी (नातिनी) रहेको बताइएको छ ।मनबहादुरको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् ।
हाल घटनास्थलमा सुरक्षाकर्मी पुग्ने क्रम जारी नै रहेको छ । यतिबेला स्थानीयले घटना स्थलमा उद्धार प्रयास गरिरहेका छन् । पानी परिरहेकोले उद्धारमा समेत समस्या भएको छ ।
फेसबुक पेज Like गर्नुहोस