काठमाडौं - जनमत पार्टीका अध्यक्ष सिके राउतले संघीयता खारेज गर्नु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निरन्तरको एजेण्डा रहँदै आएको दाबी गर्दै त्यसलाई मधेशले परास्त गर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै राउतले सैकडौं शहीदको बलिदानी, लाखौं आन्दोलनकारीको संघर्ष र दशकौं लामो आन्दोलनपछि संघीयता स्थापित भएको उल्लेख गरे। संघीयता विरोधी शक्तिविरुद्ध मधेश एकजुट भएर अघि बढ्ने उनको भनाइ छ।

‘सैकडौं शहीदको बलिदानी, लाखौं आन्दोलनकारीको संघर्ष र दशकौंको आन्दोलन पश्चात संघीयता आएको हो,’ राउतले लेखेका छन्, ‘मधेशले संघीयता विरोधी शक्तिलाई परास्त गर्ने नै छ।’

राउतले कुनै एक व्यक्तिले निर्वाचनको मुखमा दिएको अभिव्यक्तिले पार्टीको धारणा तय नहुने स्पष्ट पार्दै पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकबाट पारित नीति नै आधिकारिक हुने बताए।

उनले संघीयता खारेज गर्नु रास्वपाको निरन्तरको एजेण्डा रहेको र सो विषयमा पार्टीले औपचारिक रूपमा बैठकबाट निर्णयसमेत गरिसकेको दाबी गरे।

‘संघीयता खारेज गर्नु रास्वपाको निरन्तरको एजेण्डा रहँदै आएको छ, सो पार्टीले बैठकबाट निर्णय नै गरेको कुरा हो,’ राउतले भने, ‘यसर्थ मधेश यी संघीयता विरोधी शक्तिलाई पराजित गर्दै अगाडि बढ्नेछ। त्यो नै मधेशी शहीदहरूको साँचो सम्मान हुनेछ।’