काठमाडौं - अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय रहेको चलचित्र ‘बोक्सीको घर’ को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले बुधबार चलचित्रको पोस्टर सार्वजनिक गरेका हुन् । सार्वजनिक चलचित्र पोस्टरमा कपाल फिजाएर रातो साडी लगाएकी युवतीलाई पिपलको रूखमुनि प्रस्तुत गरिएको छ ।

केकी अधिकारी फिल्म्सले निर्माण गरेको यस चलचित्रको लेखन तथा निर्देशन सुलक्षण भारतीको रहेको छ । अभिनेत्री केकीका बाबु बद्री अधिकारी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता राज घिमिरे हुन् ।

चलचित्रमा केकीसँगै सुलक्षण भारती, सुपला सापकोटा, स्वेच्छा राउत, सविन बास्तोला, रमा थपलिया, सुष्मा निरौलालगायतका कलाकारको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड संगीत रहेको चलचित्रलाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । टिफल्क फिल्म्सले चलचित्रलाई वितरण गर्नेछ । यो चलचित्र १४ वैशाखदेखि प्रदर्शन हुँदैछ ।