सुनसरी - सशस्त्र प्रहरी बलले सुनसरीबाट हतियार र ठूलो परिमाणको लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको कोशी गाउँपालिका–३ जमुवा स्थित नेपाल-भारत सीमा क्षेत्रमा निर्वाचन सुरक्षामा खटिएको सशस्त्र प्रहरीलेको टोलीले उनलाई लागूऔषध र पेस्तोलसहित शुक्रबार साँझ नियन्त्रणमा लिएको हो। 

पक्राउ परेका व्यक्ति भारतको अररिया जिल्ला स्थित बेला ग्राम पञ्चायत–४ बस्ने ३६ वर्षीय राम खेलन पासवान रहेको खुलेको छ। सशस्त्र प्रहरी बल नेपाल, नम्बर ४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्कीका अनुसार शुक्रबार बेलुका निर्वाचन क्षेत्र सुरक्षा बेस, निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत बिओपी श्रीपुरबाट खटिएको चेकपोइन्ट ड्युटी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ५० एजे ४२२९ नम्बरको अपाची मोटरसाइकल शंकास्पद देखिएपछि रोकी चेकजाँच गरेको थियो। 

चेकजाँचका क्रममा मोटरसाइकलमा सवार व्यक्ति फरक व्यवहार देखाउँदै भाग्न खोजेपछि सशस्त्र प्रहरी निरीक्षक मनबहादुर न्यौपानेको कमाण्डमा रहेको तीन जनाको टोलीले उनलाई नियन्त्रणमा लिएको काजीले बताए।