काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने घोषणा गरेसँगै ओली नै प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएको हो । बहुमत जुटाउन हम्मेहम्मे देखिए विपक्षी दलहरुले दावी नगर्ने बताएका हुन् । एमालेका असन्तुष्ट पक्ष माधवकुमार नेपाल पक्षको राजीनामा वा समग्र जनता समाजवादी पार्टी एकढिक्का नभएपछि कांग्रेस र माओवादीले पछि हटेका हुन् । 

हाल कांग्रेससँग ६१ र माओवादी केन्द्रसँग ४८ सांसद छन् । जसपाको उपेन्द्र यादव डा. बाबुराम भट्टराई पक्षमा १५ वा १६ जना सांसद छन् । उक्त आंकलनअनुसार विपक्षी गठबन्धनसँग १२५ को हाराहारीमा मात्रै सांसद हुन्छन् । बहुमतका लागि १ सय ३६ आवश्यकता पर्छ । एमालेको असन्तुष्ट नेपाल पक्षका प्रत्यक्षतर्फका १९ जनाले राजीनामा दिँदा २७१ सदस्यीय प्रतिनिधिसभामा सांसद संख्या २ सय ५२ मा झर्ने र त्यसपछि बहुमतका लागि आवश्यक १ सय २७ सांसदमा विपक्षीले बहुमत दाबी गर्ने अनुमान गरिएको थियो ।

तर, बिहीबार दिउँसो एमालेको स्थायी कमिटी बैठकले नेता नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गर्नु तथा चपलीस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको घरमा ओली र नेपालबीच भेटवार्ता भएपछि नेपाल पक्षले तत्काल राजीनामा नदिने भएको हो । 

प्रधानमन्त्री ओली विश्वासको मतमा पराजित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२)अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर नयाँ सरकार बनाउन दिएको ३ दिनको समय आज राति ९ बजे सकिँदैछ । विपक्षीले कुनै विकल्प निकाल्न सकेनन् भने प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेताको हैसियतमा एमालेकै ओली प्रधानमन्त्रीमा फर्कनेछन् । 

यसैबीच जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको स्रोतले बताएको छ ।