काठमाडौं - निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्षको नेतृत्वमा बुधबार दल दर्ता भएको हो । 

एमालेबाट छुट्टिएर बनेको समाजवादीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८)को दफा ३३ बमोजिम दर्ता गरेर प्रमाण दिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखतपछि दल दर्ता गरेर प्रमाणपत्र दिएको जानकारी दिए । दल दर्ता नम्बर १६६ रहेकाे छ । 

पार्टीको केन्द्रीय कार्यालय नया बानेश्वर तोकिएको छ । एमालेबाट अलग भएर माधव नेपाल पक्षले भदौ २ गते दल दर्ताको निवेदन दिएको थियो । नेकपा एकीकृत समाजवादीको पक्षमा साविकको एमाले केन्द्रीय कमिटीका ५५ सदस्यले हस्ताक्षर सनाखत गराएका छन् ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नयाँ पार्टी खोल्न सहज भएको हो ।