एजेन्सी - इरानसँग परमाणु कार्यक्रमबारे हुने दोस्रो चरणको वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पनि अप्रत्यक्ष रूपमा सहभागी हुने बताएका छन्।

अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता मंगलबार स्वीट्जरल्याण्डको जेनेभामा हुने तय भएको छ । वार्ताका लागि अमेरिकाबाट राष्ट्रपति ट्रम्पका मध्यपूर्व हेर्ने विशेष दूत स्टिभ विटकोफ तथा ट्रम्पका ज्वाँइ ज्यारेड कुश्नर सहभागी हुने भएका छन्।

यता इरानका विदेशमन्त्री अब्बास अराक्ची वार्ताकै लागि सोमबार नै जेनेभा पुगिसकेका छन्।

सोमबार एयरफोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले वार्तामा आफ्नो अप्रत्यक्ष संलग्नता रहने बताएका हुन्। ‘यो वार्ता अत्यन्त महत्त्वपूर्ण हुनेछ। त्यसकारण अप्रत्यक्ष रूपमा मेरो संलग्नता पनि हुनेछ,’ ट्रम्पले भने।

ट्रम्पले पछिल्लो समय इरान पनि सम्झौता गर्ने पक्षमा रहेको दाबी गर्दै भने, ‘उनीहरू सम्झौता नगरी त्यसको परिणाम भोग्न चाहन्छन् भन्ने मलाई लाग्दैन।’ अमेरिकी अधिकारीहरूका अनुसार यदि वार्ता विफल भए वासिङ्टनले इरानविरुद्ध सैन्य कारबाही गर्ने सम्भावना उच्च छ।

यसअघि ओमानको मस्कटमा पहिलो चरणको वार्ता भएको थियो। तर ठोस सहमति नजुटेपछि दोस्रो चरणको वार्ता तय गरिएको हो।