डा. केसीको जीवनरक्षा गर्न कांग्रेसको माग
काठमाडौं - प्रमुख विपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार एक विज्ञप्ति निकाली वार्ता टोली गठन गरेर डा. केसीसँग इमान्दार वार्ता र सार्थक कार्यान्वयनको तदारुकताका साथ पेश हुन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको अग्रसरतामा ०७५ साउन १० गते सरकारले गरेको सम्झौता उल्लंघन हुँदा अहिलेको परिस्थिति आएको पनि शर्माले बताए ।
कांग्रेसको समयमा बनाइएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशले मार्गप्रशस्त गरेको बाटोलाई नेकपाको सरकारले ईमानदार भएर कार्यान्वयनमा लगेको भए चिकित्सा शिक्षाको क्षेत्रमा सुधार र प्रगतिको गति यस बेलासम्म फरक उचाइमा पुगिसकेको हुने प्रवक्ता शर्माको भनाइ छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘डा. केसीको यो अनशनको समयमा ‘बिराएको बाटोबाट ठीक बाटोमा आउन’ संघीय सरकारलाई नेपाली कांग्रेस हार्दिक अपील गर्दछ ।’
डा. केसी काठमाडौं आएपछि जबरजस्ती ट्रमा सेन्टरमा लैजानुले सरकारको अविवेकी र अनुदार चरित्र थप उजागर भएको पनि कांग्रेसले जनाएको छ ।
जुम्लामा २९ भदौबाट १९ औं अनशन थालेका डा. केसी स्वास्थ्य अवस्था कमजोर भएपछि काठमाडौंमा आएर अहिले त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन् ।
फेसबुक पेज Like गर्नुहोस