नेपालगञ्ज - कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज–३, एकलैनीका ५२ वर्षीय पुरुष रहेका छन् ।

उनको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा बिहान २ः२५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार उनको दुवैतिर फोक्सोको निमोनिया थियो ।

स्वास्थ्यमा समस्या भएपछि उनलाई असोज ६ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन पीसीआर परीक्षण गर्दा उनको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।