काठमाडौं - जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाको दोगडाकेदार गाउँपालिका–७ निवासी १७ वर्षीया किशोरीभागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने सोही ठाउँका दिनेश भट्टलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत अभियुक्त दिनेशले हत्या गरेको भन्ने आफैँले बयान दिएको प्रकरणमा पुष्टि भएपछि उनलाई सार्वजनिक गरेको प्रहरीले जनाएको छ । भागरथीको पोष्टमाटम रिपोर्टमा बलात्कारपछि हत्या गरेको पाइएको अस्पतालले जनाएको छ ।

तर, अभियुक्त दिनेशले भने बलात्कार नगरी हत्या मात्रै गरेको बयान दिएको प्रहरीको भनाइ छ । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय बैतडीमा आज पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको जानकारी दिए ।

घटनास्थलको त्रुटिरहित ढंगले प्रमाण संकलन गरेर प्रयोगशालामा पनि केही प्रमाण पठाइएको उनको भनाइ छ । दिनेशविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर थप अनुसन्धान हुने प्रहरी प्रमुख सुवेदीले बताए ।

गत माघ २१ गते सनातन माध्यमिक विद्यालयबाट भागरथी घर फर्कने क्रममा जंगलमा बाटो ढुकेर उनलाई दिनेशले हत्या गरेका थिए । उनले भागरथीको पिछा गर्दै लवलेकको जंगलमा लडाएर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।