काठमाडौं  - बलिउडमा समेत चर्चित साउथ फिल्मकी अभिनेत्री श्रुति हसनले कुनै समय आफूलाई मदिराले नराम्ररी डुबाएको खुलासा गरेकी छन्।हालै ३४औं जन्मदिन मनाएकी उनले लक्ष्मी प्रसन्नाको सोमा आफ्नो मदिराको लतको बारेमा खुलेर बताएकी थिइन्। उनलाई एक समय ह्विस्कीको यति लत लागेको थियो कि यसकै कारण उनले फिल्मबाट नै ब्रेक लिएकी थिइन्।

अभिनेत्री श्रुति साउथका सुपरस्टार कमल हसनकी छोरी हुन्। फिल्ममा आउनुअघि मोडलिङ गरेकी हसन गायिका र संगीतकार पनि हुन्। उनले आफ्नो पिताको फिल्म ‘थेवार मगन’ मा ६ वर्षमै गीत गाएकी थिइन्। फिल्म ‘लक’ बाट बलिउडमा डेब्यु गरेकी श्रुतिले सोनु सुद स्टारर फिल्म ‘रमैया वस्तावैया’ मा पनि भूमिका निभाएकी थिइन्।

यसैगरी उनले अक्षय कुमारको फिल्म ‘गब्बर इज ब्याक’ पनि मुख्य भूमिका निभाएकी छन्। कुनै समय तामिल स्टार सिद्धार्थसँग उनको नाम जोडिएको थियो। विज्ञापनमा समेत खेलेकी उनी यतिबेला फिल्म क्षेत्रबाट टाढिँदै गएकी छन्।