प्रतिनिधिसभाको बैठक आज, विवादास्पद सूचना प्रविधि विधेयकको प्रतिवेदन पेस हुँदै
काठमाडौं - संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ ।
संघीय संसद् सचिवालयले प्रतिनिधि सभाको सातौँ अधिवेशन अन्तर्गत आठौँ बैठकका लागि विभिन्न सम्भावित कार्यसूचीहरु तय गरेको छ । आजको बैठकमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विवादास्पद विधेयकको प्रतिवेदन पेस हुने कार्यसूची तय भएको छ । विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले उक्त विद्येयक पेश गर्नेछिन् ।
उक्त विधेयकमा सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान छ । समितिले बहुमतबाट पारित गरेको उक्त प्रतिवेदनमा कांग्रेसका सांसदले भने विरोध जनाएका थिए ।
त्यस्तै, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोग र थारु आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि छ । सभामुख अग्निप्रसाद सापकोटाले पुर्वसांसद ऐश्वर्यलाल प्रधानाङगको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।
फेसबुक पेज Like गर्नुहोस