काठमाडौं - जातीय भेदभाव तथा छुवाछुत, महिला र बालबालिकामाथि हुने हिंसा तथा सीमान्तकृत समुदायमाथिका दुर्व्यवहार नियन्त्रण गरी पीडितलाई न्यायको पहुँचमा पुर्याउने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच छलफल भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यकलगायत जोखिममा रहेका समुदायको अधिकार संरक्षण, सुरक्षा र न्यायमा पहुँच अभिवृद्धिका विषयमा छलफल भएको हो।
भेटमा विशेषगरी जातीय भेदभाव तथा छुवाछुतका घटनामा प्रभावकारी अनुसन्धान, दोषीमाथि कानुनी कारबाही, पीडितको सुरक्षा तथा उजुरीको शीघ्र सम्बोधनलाई प्राथमिकता दिइएको थियो। यस्ता घटनामा संलग्नलाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउँदै पीडितलाई न्याय दिलाउने प्रक्रिया प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।
यसका लागि नेपाल प्रहरीमा रहेको दलित सहायता कक्षलाई थप सक्रिय र प्रभावकारी बनाउने, पीडितका उजुरी संवेदनशीलतापूर्वक सुन्ने तथा अनुसन्धान र अभियोजन प्रक्रियालाई शीघ्र अघि बढाउने विषयमा छलफल भएको थियो।
प्रहरी कर्मचारी तथा अधिकारीलाई नियमित ब्रिफिङ र तालिममार्फत जातीय विभेदविरुद्धको कानुनी व्यवस्था, पीडितमैत्री व्यवहार र जवाफदेहिताबारे थप जिम्मेवार बनाउने आवश्यकता पनि औँल्याइएको थियो।
त्यस्तै, महिला तथा बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहार नियन्त्रण, जोखिममा रहेका बालबालिकाको संरक्षण, पुनर्स्थापना तथा पारिवारिक पुनर्मिलनलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रलाई थप सक्रिय बनाउँदै स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर पीडितमैत्री सेवा प्रवाह गर्नुपर्नेमा जोड दिइएको थियो। जोखिममा रहेका समुदायको अधिकार संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायबीच समन्वय तथा सहकार्य प्रभावकारी बनाउनुपर्ने विषयसमेत भेटवार्तामा उठेको थियो।

.gif)


