काठमाडौं - नेपाल प्रहरीको नेतृत्व कमजोर बन्दा प्रहरीमा नियमित सरुवा रोकिएका छन्। १५ महिना हुँदासम्म जिल्ला प्रहरी प्रमुख रहेका एसपी तथा डिएसपीहरुको सरुवा हुन सकेको छैन । 

एसपीसम्मको सरुवाको अधिकार प्रहरी नियमावलीले प्रहरी महानिरीक्षकलाई छ। तर, वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माथिको आदेश कुर्दै सरुवा गर्न सकेका छैनन् ।

प्रहरीमा सामान्यतया एक वर्षमा सरुवा हुन्छ । कैलाली, बर्दिया, तनुहँ लगायत जिल्लाका एसपीको अवधि १५ महिना पुगिसकेको छ। त्यस्तै, अन्य दर्जन जिल्लाको १४ महिना भइसकेको छ। 

विभिन्न जिल्लाका डिएसपीहरुको पनि १४ महिना पुगिसकेको छ। भदौमै नियमित रुपमा हुनुपर्ने सरुवा कात्तिकको आधा हुनलाग्दा पनि नहुँदा पुलिसिङ अस्तव्यस्त बन्दै गएको छ।

एकातर्फ अवधि पुगेका इन्चार्जहरु मन नलागी नलागी काम गर्न बाध्य छन् भने अर्कोतर्फ जिल्ला इन्चार्जको पर्खाइमा रहेकाहरु पनि निराश बनेका छन्। 

अझै तत्काल सरुवा निस्कने छाँटकाँट नरहेको प्रहरी स्रोत बताउँछ । गृह मन्त्रालयबाट ग्रिन सिग्नल नआएसम्म सरुवा हुने अवस्था छैन । हाल गृह मन्त्रालयसँग प्रहरी नेतृत्वको राम्रो सम्बन्ध छैन । 

प्रधानमन्त्री बालेन शाहले पनि आईजीपीलाई नरुचाएको बताइन्छ । अर्कोतर्फ  आईजीपी कार्कीमाथि निर्वाचन प्रहरीको पोशाक खरिदमा भएको अनियमिताबारे संसदीय छानबिन पनि भइरहेको छ। यस्तो अवस्थामा सिंगो प्रहरी संगठन नै अस्तव्यस्त र कमजोर बन्दै हुँदै गएको छ। 

त्यसो त रिक्त रहेका पदमा पनि बढुवा रोकिदै आएको छ । एसएसपीसहित विभिन्न पदहरु रिक्त छन्। ती पदमा पनि तत्काल बढुवा अघि बढ्ने सम्भावना देखिएको छैन । प्रहरी नेतृत्व र सरकारबीचको असमझदारीको मारमा प्रहरी अधिकारी परेका छन्।