उदयपुर - उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुनका एक २५ वर्षीय युवालाई जिल्ला अदालत उदयपुरले स्थानीय १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सात वर्षको जेल सजाय र रु पाँच हजार दण्ड जरिवाना गर्ने फैसला गरेको छ । अदालतले २५ वर्षीय विनोद परियारका विरुद्धमा उक्त फैसला सुनाएको अदालतले बताएको छ ।

बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले परियारलाई किशोरी बलात्कार गरेको अभियोगमा सात वर्षको जेल सजाय र पीडितलाई रु पाँच हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताएका छन् ।

विसं २०७५ माघ २९ गते परियारले किशोरीलाई बलात्कार गरेको पीडितका आफन्तले प्रहरीमा जाहेरी गरेपछि फागुन २६ गते पक्राउ गरेर चैतदेखि अभियुक्तलाई बलात्कारसम्बन्धी मुद्दा चलाइएको पनि जिल्ला अदालत उदयपुरले बताएको छ ।