काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरेलले सांस्कृतिक क्रान्तिका नाममा परम्परागत पहिचान र रीतिरिवाजलाई तोड्न नहुने बताएका छन् ।

विजयादशमीका अवसरमा कामपा–५ हाँडीगाउँमा त्रिशक्ति युवा क्लबले बुधबार आयोजना गरेको दुर्गा पूजा समारोहमा उपप्रधानमन्त्री पोखरेलले कसैले पनि कसैको आस्था र विश्वासमा प्रहार गर्ने काम गर्न हुँदैन भने ।

रक्षामन्त्री पोखरेलले भने, ‘मानिसको आस्था र विश्वासको सम्मान गर्नुपर्छ । धर्म, संस्कृति हाम्रा पुर्खाको देन हो, त्यसको संरक्षण गर्नु हाम्रो दायित्व हो ।’

सो अवसरमा पूर्वमन्त्री डा प्रकाशशरण महतले समाजको सांस्कृतिक परम्परा जोगाउन क्लबले गरेको प्रयास धेरैका लागि अनुकरणयोग्य भएको बताए । हाम्रो परम्परागत धर्म, संस्कृति पनि समृद्धि र पहिचानका आधार रहेको उल्लेख गर्दै उनले सरकार पनि यसबारे अलि गम्भीर हुनुपर्छ भने ।

साहित्यकार रोचक घिमिरेले हाँडीगाउँ संस्कृति र धार्मिक परम्पराले समृद्ध रहेको बताए । पूजा व्यवस्थापन समितिका अध्यक्ष सुदीप समद्दारले भाषा, संस्कृति र परम्परागत रीतिरिवाजका हिसाबले नेपाल विश्वकै धनी मुलुक हो भने ।