काठमाडौं - बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको आदेशले दोषी ठहर गरी फरार भएका एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेश गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने वरुण ढकाल रहेका छन् । अदालतले उनलाई पाँच दिन कैद र बिगोबमोजिम रू ६१ लाख ५५ हजार जरिवाना हुने ठहर गरेको थियो ।

फैसलापछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरी आज फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्यूरोकी प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिइन् । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारी रु ६१ लाख बढीको चेक काटीदिएका थिए ।

यसैबीच वन्यजन्तुको आखेटोपहार अवैधरूपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा खटिएको ब्यूरोको टोलीले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६ झुलपाखाबाट संरक्षित वन्यजन्तुको छाला (आखेटोपहार) सहित तीन जनालाई पक्राउ गरेको छ ।

अवैधरूपमा वन्यजन्तुको अङ्ग ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा बाराको सिमरा बस्ने फुलमाया तामाङ, गुल्मीका शिव पल्ली र रामेछाप दोरम्बाका पासाङ टसी तामाङलाई पक्राउ गरिएको पन्तले जानकारी दिइन् । उनीहरुलाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडौंमा पठाइएको ब्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।