एजेन्सी - मध्य लन्डनस्थित लन्डन ब्रिजमा जथाभावी रूपमा गरिएको छुरा प्रहारमा दुई व्यक्तिको मृत्यु भएको छ । घटनामा संलग्न आक्रमणकारीको पनि प्रहरीको गोली प्रहारबाट मृत्यु भएको छ ।

बीबीसीले जनाएअनुसार घटनामा संलग्न आक्रमणकारीलाई प्रहरीले पहिचान गरेको छ । आक्रमणकारीको नाम उस्मान खान हो जसको उमेर २८ वर्ष रहेको छ । उस्मान कुनै अभियोगमा जेल परेर जमानतमा जेलबाहिर रहेका पात्र थिए ।

लन्डन मेट्रोपोलिटन पुलिसले यस आक्रमणलाई ‘आतंकवादी घटना’ भनेको छ । आक्रमणकारीको घटनास्थलमै मृत्यु भएको र उसले नक्कली विस्फोटक ज्याकेट लगाएको पनि प्रहरीले जानकारी दिएको छ ।

स्थानीय समयअनुसार शुक्रबार दिउँसो दुई बजे लन्डन ब्रिजनजिकै मानिसहरूको भीडमा छुरा प्रहारको घटना भएको थियो ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेअनुसार मानिसहरूको एउटा समूह ब्रिजमा झगडा गरिरहेजस्तो थियो । मानिसहरू आक्रोशित हुँदै एक व्यक्तिमाथि जाइलाग्दै थिए । यस्तैमा खबर पाएको पाँच मिनेटमै त्यहाँ प्रहरीहरू पनि आइपुगे र संदिग्ध आक्रमणकारीमाथि प्रहरीले गोली प्रहार गरेको थियो ।