वीरगन्ज - वीरगन्जका आधा दर्जन अस्पतालको चक्कर लगाउँदा पनि भर्ना नलिएपछि मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार राति आधा दर्जन अस्पताल चहार्दा उपचार नपाएर वीरगन्ज -२ छपकैयाकी २० वर्षीया विष्णु लामाको मृत्यु भएको थियो। 

ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार राति आफन्तले ट्याम्पुमा राखेर लामालाई उपचारका लागि लिएर जाँदा वीरगन्जका आधा दर्जन निजी अस्पतालले भर्ना नलिएपछि गण्डकस्थित कोभिड अस्थायी अस्पतालमा पुर्‍याएका थिए।

कोभिड अस्पतालमा शनिबार बिहान डेढ बजे पुर्‍याए पनि उपचारका क्रममा २ बजेतिर उनको मृत्यु भएको हो। मृत्युपछि शनिबार दिउँसो लामाको स्वाब संकलन गरी पीसीआर परिक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो।