काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी एकीकरणपछिको यो दोस्रो बैठक हो । यसअघि २१ महिनाअघि बालुवाटारमा सपथ ग्रहणका लागि मात्र उक्त कमिटीको बैठक बोलाइएको थियो ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ‌ओलीले सम्बोधन सुरु गरेका छन् । काठमाडौं राष्ट्रिय सभागृहमा सुरु भएको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले उद्घाटन मन्तव्य र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले दुवै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

बैठकमा महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संशोधन प्रस्ताव तथा सातै प्रदेशका अध्यक्षहरूले प्रगति प्रतिवेदन प्रस्तुत गर्ने एजेन्डा रहेको छ ।

यस्तो छ नेकपा केन्द्रीय कमिटीका १९ अधिकार

आफूमध्येबाट अध्यक्षसहित पदाधिकारी, सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो निर्वाचन गर्ने

आवश्यक विषयमा पार्टीको दृष्टिकोण तथा नीति तय गर्ने र पार्टीका नीति तथा निर्णयहरू कार्यान्वयन गर्ने/गराउने

केन्द्रीय पार्टी स्कुल सञ्चालन गर्ने

पार्टीका दस्ताबेज, केन्द्रीय मुखपत्र र अन्य आवश्यक सामग्री सम्पादन तथा प्रकाशन गर्ने

सदस्य, संगठित सदस्य, मातहत कमिटी र पार्टीबाट सरकार संसद् तथा राजनीतिक नियुक्तिमा गएका व्यक्तिहरूलाई लेबी शुल्क तोक्ने र आर्थिक कोष निर्माण एवं परिचालन गर्ने

केन्द्रीय कमिटी पदाधिकारी र सदस्यहरूको वरीयताक्रम निर्धारण र कार्ययोजना गर्ने

सैद्धान्तिक, कार्यक्रमिक वा नीतिगत विषयमा बहस गर्नुपर्ने आवश्यकता महसुस भएमा छुट्टै बैठक वा कार्यशाला आयोजना गर्ने

पार्टीका मातहत कमिटी, संगठित सदस्य, सदस्यलाई आवश्यक निर्देशन दिने र तीनका कार्यको अनुगमन तथा मूल्यांकन गर्ने

पार्टीका जनवर्गीय, पेसागत तथा सामुदायिक संगठनहरूलाई नीतिगत नेतृत्व दिने

मातहत कमिटीबाट अनुशासनको कारबाहीमा परेका व्यक्ति तथा कमिटीका निर्णयलाई बदर गर्ने, आफ्नो जिम्मेवारी पूरा नगर्ने तथा पार्टी निर्देशन पालना नगर्ने कमिटीलाई विघटन गर्ने र संगठित सदस्य र सदस्यलाई आवश्यक कारबाही गर्ने

पार्टीको एकता हित र सुरक्षामा खलल पार्ने मातहतका कुनै पनि कमिटीका निर्णयलाई बदर गर्ने, आफ्नो जिम्मेवारी पूरा नगर्ने तथा पार्टी निर्देशन पालना नगर्ने कमिटीलाई विघटन गर्ने र संगठित सदस्य तथा सदस्यहरूलाई कारबाही गर्ने

संघीय संसद्, नेपाल सरकार, प्रदेश सभा, प्रदेश सरकार र स्थानीय तह सञ्चालनका लागि आवश्यक नीति निर्माण र नेतृत्व प्रदान गर्ने

अन्तर्राष्ट्रिय क्षेत्रमा पार्टीको सम्बन्ध स्थापना, विस्तार र सञ्चालन गर्ने

मापदण्ड पूरा गरेका व्यक्तिलाई सदस्यता वा संगठित सदस्य प्रदान गर्न सक्ने

जनता र राष्ट्रको पक्षमा विशिष्ट योगदान गरेका व्यक्तिलाई सम्मानस्वरूप मानार्थ सदस्यता प्रदान गर्ने

एकताको राष्ट्रिय महाधिवेशनप्रति उत्तरदायी भएर केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा परीक्षण आयोग गठन गर्ने

पार्टी एकताबद्ध हुने वा प्रवेश गर्ने समूह वा व्यक्तिहरूमध्येबाट केन्द्रीय कमिटीमा बढीमा १० प्रतिशत सदस्य मनोनीत गर्ने

पार्टी एकता र एकीकरणलाई अगाडि बढाउनआवश्यक निर्णय गर्ने

यस विधानमा अन्यत्र उल्लेख गरिएका र तोकिएबमोजिमका कार्यहरू गर्ने