काठमाडौं - पाकिस्तानको मदरासस्थित कुचलाक क्षेत्रमा भएको विस्फोटमा पाँचजनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

पाकिस्तानी सञ्‍चारमाध्यम डन टिभीले प्रहरीलाई उदृत गर्दै शुक्रबार भएको शक्तिशाली विस्फोटमा पाँचजनाको मृत्यु भएको जनाएको छ । 

प्रहरीका अनुसार विस्फोटको प्रकृति अहिलेसम्म थाहा नभएको जनाइएको छ । घाइते भएका दर्जनौं मानिसहरुलाई क्वेटास्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

टेलिभिजन फुटेजमा देखाइए अनुसार उक्त शक्तिशाली विस्फोटबाट त्यहाँका भौतिक संरचनाहरुमा ठूलो क्षति पुगेको छ । 

चार साताको समयमा क्वेटामा भएको यो चौथो विस्फोट हो । चार सातामा भएका चारवटा छुट्टाछुट्टै विस्फोटमा १४ जनाले ज्यान गुमाएका छन् ।

पहिलो पटक जुलाई २३ मा भएको विस्फोटमा तीनजनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । जुलाई ३० प्रहरी चौकी नजिकैको विस्फोटमा पाँचजनाको मृत्यु र ३० जना घाइते भएका छन् । पाकिस्तानमा प्रतिबन्धित तेहरिक-आई-तालिबान पाकिस्तानले जिम्मा लिएको थियो । 

गत साता क्वेटाको मिसन रोड क्षेत्रमा गराइएको विस्फोटमा एकजनाको ज्यान गएको थियो भने १० जना घाइते भएका थिए ।